Sunday, October 16, 2011

पुस्तक पढ्ने र ग्रहण गर्ने कुरा

धेरै पुस्तक पढ्नेमध्ये राजनीतिशास्त्री हरि शर्माले मलाई सबभन्दा बढी प्रभाव पारे । खोजपत्रकारिता केन्द्रको पाठशालामा शर्माले हामीलाई समाज, राजनीति र इतिहासका बारेमा सिकाउँथे । यो झण्डै सात वर्षघिको प्रसङ्ग हो । तीन महिने कक्षामा छलफल हुँदा उनी कुन विषयमा कुन लेखकले (नेपाली/विदेशी) कुन पुस्तकमा के लेखेका छन्, फटाफट भन्थे । यतिधेरै पुस्तक र लेखकका प्रसङ्ग ल्याउँथे कि हामी तीनछक्क पथ्र्यौं ।
    उनी साह्रै धेरै पुस्तक पढ्ने व्यक्ति रहेछन् । उनले जति पुस्तक पढ्ने मैले अरु भेटेको पनि छैन । ज्ञानगुन लिने, फुसदमा समय कटाउने त छँदैछ,  उनका लागि मनोरञ्जन लिने साधन पनि पुस्तक नै रहेछ । अमेरिकामा उच्च शिक्षा लिएका शर्माले हामीलाई पनि पुस्तक पढ्ने तरिका पनि सिकाउँथे । त्यतिबेला हरेकले पुस्तक पढेर कक्षामा जानुपथ्र्यो र विभिन्न कोणबाट छलफल गर्नुपथ्र्यो । पढ्दै आएका इतिहास शतप्रतिशत सत्य छैनन्, राणाहरु खरावमात्र थिएनन्, इतिहास कसरी लेखिन्थेलगायतका थुपै्र कुराको चेत पाठशालामा खुलेको थियो । शर्मा अहिले राष्ट्रपतिका सल्लाहकार छन् क्यारे । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पनि सल्लाहकारमा उनी प्रायः छुट्दैनथिए ।
    त्यो पाठशालाले हामीलाई पढ्न उत्प्रेरित गथ्र्यो । सहभागीले पाउने एकमुष्ठ भत्तामध्ये एक हजार रुपैयाँले अनिवार्य पुस्तक किन्नुपथ्र्यो । त्यसबाहेक आयोजकले पुस्तक प्दर्शनीमा पनि पठाउँथे । पाठशाला सकिएपछि पढ्ने बानीले निरन्तरता पाएन । तरपनि नाम चलेका पुस्तकहरु भेटेसम्म पढ्न छुटाउनुहुन्न जस्तो लाग्छ ।
    रुचि जगाउने विषयवस्तु र पढ्दा पुस्तकबाट ग्रहण गर्ने कुरा व्यक्तिपिच्छे फरक हुन्छ होला । व्यक्तिगत रुचि, आफ्नो पेशा, व्यवसायले पनि यसमा प्रभाव पार्दो हो । पढ्दा कसैलाई एउटै कुराले बढी प्रभाव पार्छ होला भने अर्कोलाई अर्को कुराले । त्यसैले एउटै पुस्तकको बारेमा पनि कसले कसरी लेखेको लेखेको छ भनेर हर्ेन पनि मलाई मन लाग्छ । पछिल्लो प्रसङ्ग, आनी छोइङ डोल्माको 'फूलको आँखामा' पुस्तक बजारमा आएको छ । यसका बारेमा समीक्षात्मक लेखहरु पनि पत्रिकाहरुमा आएका छन् । मलाई ती लेखहरुमा आनी छोइङ डोल्मा अर्को एउटा पाटोलाई पनि समेटिदिए हुन्थ्यो जस्तो लाग्यो ।  डोल्मा छेक्विद आनी छोइङ डोल्मा भएकैले वा 'फूलको आँखामा फूलै संसार' गीत गाएकैले मात्र चर्चित होइनन् भन्ने कुरालाई पुस्तकमा र्छलङ्ग हुन्छ जुन कुरा पुस्तक नपढ्ने धेरैलाई थाहा हुदैन । 
    उनी अरु आनीभन्दा फरक थिइन् । उनी पूजापाठमा मात्र सिमित भइनन् । गुम्बाभित्र अंग्रेजी गीत सुन्थिन्, उपन्यासहरु पढि्थन्, फिल्म हेर्थिन्, नाच्थिन्, गाउँथिन् । वाद्यवादन सिकिन्, मन्त्रपाठ गर्न थालिन् । २०५२ सालमा गाडी हाँक्न थालेकी उनी पहिलो आनी ड्राइभर हुन् । आनीहरुले पढ्नुपर्छ भनेर आर्यतारा स्कुल खोलिन् । विनामिहिनेत पाएको आर्थिक सहयोगमा मात्र भर नपरेर अर्थ संकलन गर्नका लागि विभिन्न मुलुक चाहार्दै सांगीतिक कार्यक्रम गरिन् ।
    आनी छोइङ डोल्मा अहिले मिर्गौला रोगीहरुलाई सस्तोमा उपचार गराउने अस्पताल खोल्ने अभियानमा छिन् । 'फूलको आँखामा' पुस्तक किन्नु भनेको अस्पतालको लागि सहयोग गर्नु पनि हो । पुस्तकले अरु थुप्रै सकारात्मक सन्देश पनि दिन्छ ।
    पुस्तकबाट धेरै कुरा सिकिन्छ । राम्रा पुस्तकहरुले सन्देशमुलक र प्रेरक विचारहरु समेटेका हुन्छन् । विभिन्न खालका तरिकाहरु सिकाएका हुन्छन् । पाठकलाई तानिरहने शैलीमा लेखिएका हुन्छन् । शीर्षक सुन्नासाथ त्यसबाट उत्पन्न हुने सम्पूण् जिज्ञासालाई मेट्न सक्नु राम्रो पुस्तकको विशेषता हो । आनीको पुस्तक भन्नासाथ पाठकहरुलाई उनीहरुको प्रेम र यौनका बारेमा पाठकमा जिज्ञासा उत्पन्न हुन सक्छ, 'फूलको आँखामा' पुस्तकले त्यसलाई मेट्ने कोशिस गरेको छ ।
    जिज्ञासा नमेटिँदा, एउटै कुरा दोहोरिहँदा र सतही रुपमा प्रस्तुति हुँदा पाठकले खल्लो महशुस गर्छन् । झमक घिमिरेको बहुचर्चित 'जीवन काँडा कि फूल' पुस्तकमा कतिपय कुराहरु दोहोरिन्छन्, बहकिएजस्तो पनि लाग्छ, कुनै ठाउँमा थप विवरणको खाँचो देखिन्छ । तर झमकको साहस र संर्घष्ालाई भने सलाम गर्नुपर्छ ।
    पत्रकारले समाचार लेख्दा एउटै एङ्गल -कोण) मा रहेर विस्तृत विवरण दिएजस्तै राम्रा पुस्तक वा लेख एउटै विषयमा केन्द्रित हुन्छन् । विवरणहरु विस्तृतरुपमा पस्किएको हुन्छ । जस्तो वहुचर्चित पुस्तक- अल्केमिष्ट । पाउलो कोएल्होले लेखेको यो पुस्तकमा अमूल्य धनसम्पत्ति पाउनका एउटा किशोरले मरुभूमिमा गरेको यात्राको बारेमा केन्द्रित छ । अनावश्यक लम्बेतान कुरा थोपरिएको छैन । त्यस्तै चेतन भगतको 'फाइभ पोइन्ट सोमवन' परीक्षामा पाँच अंकको हाराहारीमा नतिजा ल्याउने विद्यार्थीको कथा छ । यसमा आधारित फिल्म 'थ्री इडियट्स' पनि छ । तर पुस्तक र फिल्म उस्तै छैनन् ।
    यात्राका बारेमा लेखिएका पुस्तकहरु पनि रमाइला हुन्छन् । यस्ता पुस्तक तथा लेखमा लेखकले यात्रा गर्ने क्रममा भोगेका सामान्य कुरामात्र समेटिएका हुँदैनन् । यात्रा गर्ने तरिका, भौगोलिक बनावट, खाने-बस्ने प्रवन्ध, खर्च र समयलगायतका थुप्रै विवरणहरु लेखिएका हुन्छन् । यस्ता पुस्तक र लेख पढेपछि सम्वन्धित ठाउँको यात्रा गर्न सजिलो हुन्छ । नेपालमा नियात्राका पुस्तकहरुकै कारण प्रतीक ढकालले प्रशिद्धी कमाउँदैछन् ।
    कर्ण शाक्यको 'सोच' र 'खोज' ले नेपालभित्र र बाहिर कस्ता-कस्ता ठाउँहरु छन् भन्ने जानकारी दिन्छ । कृष्ण पहाडीको 'स्वतन्त्रता मन्तव्य यात्रा' पुस्तक पढ्दा पाठकले युरोप र अमेरिकाको यात्रा गर्दा भिसा, पासपोर्ट तथा जहाज र गाडीमा यात्रा गर्नेलगायतका थुप्रै तरिकाहरु पनि सिक्छन् । जोन उडको नेपाली अनुवाद 'माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म' पुस्तकले पुस्तक संकलन गर्ने तरिका सिकाउँछ । यही पुस्तकबाट प्रभावित भएर नेपालका थुप्रै युवाले विद्यालयहरुमा पुस्तकालय खोलिदिएका छन् । इलामकै जमुना- ८ का हाम्रा साथी कुमार गुरुङ जोन उडबाटै प्रभावित भएर गाउँको विद्यालयमा पुस्तकालय खोल्ने अभियानमा छन् । चेतन भगतको 'थ्री मिस्टेक्स अफ माइ लाइफ' उपन्यासले व्यापार गर्ने तरिका सिकाउँछ । नारायण वाग्लेको 'पल्पसा क्याफे' ले चित्रहरुको बारे जानकारी दिन्छ ।
    सामान्यतया सरल भाषाशैलीमा लेखिएका र एउटै विषयमा गहन प्रस्तुति भएका पुस्तकहरु चलेका छन् । मुनामदन अझै र्सवाधिक विक्रीको सूचीमा रहनु सरल भाषाशैली नै हो । सरल भाषाशैली नभए अहमदावाद, भारतका चेतन भगतको उपन्यासहरु यति धेरै बिक्ने थिएनन् । बुद्धिसागरको 'कर्नाली ब्लुज' बाबु-छोराको सम्बन्धलाई सरल तरिकाले प्रस्तुत गरिएको छ, यो पुस्तक पढ्दा जसलाई पनि आफ्नो बाल्यकालको झलझली याद आउँछ ।
    कतिपयले प्रयोगका हिसावले नयाँ शैलीमार्फ क्लिस्ट प्रस्तुति गरेका हुन्छन् । तिनले चर्चा पाएपनि पाठकहरुका लागि सदाबहार बन्न धेरै गाह्रो हुन्छ । आख्यान विशेषगरी उपन्यास, कथामा पनि यथार्थ हो भन्नु जत्तिकै गरी प्रस्तुति गरिएको हुन्छ । लेखकले पात्रलाई साँच्चिकै भेटेको र कथा सुनेको जस्तो पार्ने गरी मुख्य कथा सुरु हुनुअघि भूमिका लेखिएको हुन्छ । नारायण वाग्लेको 'पल्पसा क्याफे', भगतको थ्री मिस्टेक्स अफ माइ लाइफ', 'वान नाइट एट कल सेन्टर' उदाहरणहरु हुन् ।
    उपन्यास/कथाहरु काल्पनिक भएपनि पाठकले स्वाभाविक अर्थात पत्याउन सक्ने खालका हुनुपर्छ । कतिपय कथा र उपन्यासहरुमा अस्वाभाविक लाग्ने संवाद र प्रसंगहरु हुन्छन् । राजन मुकारुङको 'हेत्छाकुप्पा' उपन्यास पढ्दा मलाई कतिपय सर्न्दर्भ र संवाद अस्भाविक लाग्यो । पात्र छनौट र भूमिका निर्धारणमा पनि उत्तिकै गम्भीर हुनुपर्ने रहेछ ।
    दुइ वटा कुराले पुस्तक चर्चामा आउँदोरहेछ । एउटा, लेखक कुनै न कुनै राम्रो कामले चिनिएको हुनुपर्छ । नाम चलेको व्यक्तिको पुस्तक स्वभावैले पाठकले खरिद गर्छन् तर गुणस्तर सुध्रेन थप पुस्तक बिक्न छाड्छ । अर्को, लेखाई र विषयबस्तु अत्यन्तै राम्रो हुनुपर्छ ।
    तारा र्राईको 'छापामार युवतीको डायरी' जस्ता नौलो लेखकका कृति भएर पनि विषयवस्तुको प्रस्तुति शैलीका कारण चर्चित बनेका थुप्रै उदाहरण छन् । चेतन भगतले पहिलो पुस्तक छाप्न कैयौं प्रकाशन गृहमा धाए । रुपा पव्लिकेशनले पहिलोपटक सन् २००४ मा छापिदिएको 'फाइभ पोइन्ट सोमवन' भारतमा र्सवाधिक बिक्री भयो । अहिलेसम्म आएका उनका चार वटै पुस्तक उस्तै बिके । सौखले पुस्तक लेख्न थालेका उनी अहिले जागिर छाडेर व्यावसायिक लेखक बनेका छन् ।
    अहिले युवाहरुमा पुस्तक पढ्ने लहर बढेको छ । पुस्तक आफै किनेर पढेको राम्रो हो । आफूले किनेर राखेको पुस्तक चाहेको बेला फेरि हेन सकिन्छ । लेखकले मिहिनेतपूवक तयार गरेको पुस्तक सित्तैमा ज्ञान लिन प्रयोग नगर्दै वेश होला । त्यसैले म चाहिं अरुको पुस्तक मागेर पनि पढि्दनँ र आफूसँग भएको पुस्तक पनि अरु -घरबाहिर) लाई पढ्न दिन्नँ । अरुलाई दिंदा र्फकने सम्भावना पनि कम हुन्छ । आफू चाहिं, त्यसैले, सकिन्छ किनेर पढ्यो, सकिंदैन चुपचाप बस्यो ।    

(इलाम पोष्ट दैनिकमा २०६८ असोज ३० गते प्रकाशित)

No comments:

Post a Comment