Friday, June 10, 2011

को हो रोल मोडल ?

नेपालका लागि अमेरिकी राजदुत स्कट एच डेलिसीले युथ एभाइजरी काउन्सिलका सदस्यहरुलाई प्रश्न गरे, 'तपाईको रोल मोडल को हो - कोबाट तपाई प्रभावित हुनुहुन्छ -’ यो प्रश्न तेर्सिएपछि दिमाग मन्थन गर्नै पर्ने भो । साँच्चि, को हो त मेरो रोल मोडल - पर्ढाई एकातिर, पेशा अर्कोतिर र ढुलमुले भविष्य हुने मान्छेको रोल मोडल हुने कुरै भएन ।

    काउन्सिलका बारेमा अलिकति बताइहालुँ । राजदुत डेलिसीकै पहलमा दुतावासले भर्खरै विभिन्न क्षेत्रका युवालाई छनौट गरेर काउन्सिल गठन गरेको हो । युवालाई सकारात्मक सोच र सिर्जनात्मक काममा प्रेरित गर्न यो गठन भएको हो । काउन्सिलको पहिलो कार्यशाला जेठ ७ र ८ गते काठमाडौंमा भएको थियो । त्यही कार्यशालामा बोल्ने क्रममा राजदुत डेलिसीले रोल मोडलको प्रश्न तेर्स्याएका थिए ।

    खेलाडी, कलाकार, धनाढ्य, नेता जोकोही पनि रोल मोडल हुन सक्छन् । जसले आफूलाई प्रभाव पार्छ र त्यही जस्तो बन्न उत्प्रेरित गर्छ, त्यही हो रोल मोडल । मेरो सर्न्दर्भमा चाहिं रोल मोडल नभएपनि सकारात्मक सोचाई र समुदायको हितमा काम गर्ने व्यक्तिले अरुजस्तै प्रभाव पार्छ । सोचाईमा प्रभावित भएपनि काममा उत्प्रेरित हुन नसक्नु मेरो कमजोरी हो ।

    तर, सबै मजस्ता हुँदैनन् । कार्यशालामा सहभागी प्रत्येकलाई नियाल्दा सकारात्मक सोच राख्ने र सिर्जनात्मक काममा तल्लीन हुने थुप्रै युवा साथी भेट्टएिँ । उनीहरुका रोल मोडल छन् कि छैनन्, छन् भने को हुन् - मैले सोधिनँ तर उनीहरु चाहिं अरुको रोल मोडल बन्दै रहेछन् ।

    माइक्रोसफ्टको प्रतिष्ठित जागिर छाडेर नेपाललगायतका विभिन्न मुलुकमा पुस्तकालय र विद्यालय खोल्ने अभियानमा लागेका जोन उडकै पथमा थिए गोर्खाका सुवास घिमिरे । अमेरिकाको सेन्ट ओलाफ कलेजबाट स्नातक तहमा युनिभर्सिटी टप गरेपछि सुवासले प्रतिष्ठित अनुसन्धान संस्थामा वाषिर्क ५० हजार डलरको जागिर पाए । तर, जागिर चटक्कै छाडेर अहिले २४ वर्षो यी युवा विद्यालय र पुस्तकालय खोल्ने अभियानमा छन् ।
    सुवासले आफ्नै गाउँ आरुबारीमा सरस्वती शान्ति स्कुल खोलेका छन् । अमेरिकामा पढ्दा चिनजान भएका व्यक्तिहरुमार्फ सहयोग जुटाएर उनले स्कुल खोलका हुन् । यही वैशाखदेखि पठनपाठन सुरु भएको त्यस स्कुलमा गरिव र द्वन्द्वपीडित बालबालिकाले निःशुल्क पढ्छन् । स्कुलमा अहिले दुइ सय ५० विद्यार्थी छन् । उनीहरुलाई अमेरिकी शिक्षकहरुले पढाउँछन् । स्वयंसेवी शिक्षण गर्न निवेदन दिने ३५ भन्दा बढी अमेरिकीहरुबाट शिक्षक छनौट भएका थिए ।  उनले राजधानीका स्कुलहरुमा पनि पुस्तकालय स्थापना गरिदिएका छन् ।  

    अर्का थिए पर्साका वृजलाल चौधरी । अमेरिकामा चार वर्षो पर्ढाई सकिनासाथ फर्किएका उनी आफ्नै गाउँमा माछापालन गर्ने र आयमुलक वृक्षारोपण गर्ने अभियानमा छन् । 'अमेरिकामा पढ्दा पाएको छात्रवृत्तिबाट बचेको रकमले विभिन्न मुलुक घुम्न सक्थेँ तर म  आफ्नो मुलुकको मायाले वर्षोनी नेपाल आएँ,’ उनले भने । उनी अहिले अरुलाई पनि सिर्जनात्मक काममा लाग्न र आत्मनिर्भर बन्न प्रेरित गर्छन् ।

    स्याङजाका रुख गुरुङ आफ्नो गाउँलाई नमुना बनाउने अभियानमा छन् । उनी राजधानीबाटै योजनाकार लगेर गाउँको मुहार फेन चाहन्छन् । अहिले उनी विद्यालयलाई पुस्तकालय स्थापना गर्न सहयोग गरिरहेका छन् । उनी विभिन्न खालका कार्यक्रमहरु आयोजना गर्छन् र आगन्तुकबाट प्रवेश शुल्कको रुपमा पुस्तक लिन्छन् । गाउँमै व्यवसाय गरेर आत्मनिर्भर बन्ने अठोट लिएका रुख भन्छन्, 'हामीले जागिर खोज्ने होइन, जागिर सिर्जना गर्नुपर्छ ।’

    सुवास, वृजलाल र रुख युवाहरुका रोल मोडल हुन् । जसले मुलुकले के दियो भन्ने प्रश्न गर्न छाडेर मुलुकका लागि केही गर्न तम्सेका छन् । उनीहरु पक्कै पनि अरुको सामाजिक कामबाट प्रभावित भए होलान् र व्यक्तिगत हितभन्दा समुदायलाई प्राथमिकता दिए । तर, हामी धेरैको बानी चाहिं कस्तो छ भने सामाजिक व्यक्तित्वको बारेमा सुन्छौं, पढ्छौं अनि प्रभावित हुन्छौं र त्यस्तै बन्ने अठोट पनि गर्र्छौ तर विस्तारै विर्सन्छौं ।
    युवा मन अलि चञ्चल हुन्छ । महावीर पुनले अमेरिकाबाट पढेर फर्केपछि गाउँमा सूचना प्रविधि विस्तार गर्ने अभियान चालेको कथा पढ्दा त्यस्तै गर्ने सपना देख्छौं । श्रीमतीको गहना धरौटी राखेर व्यवसाय सुरु गरेर भाटभटेनी सुपरमार्केटको मालिक बनेका मीनबहादुर गुरुङको कहानी सुन्दा त्यस्तै भएको कल्पन्छौं ।

    आफ्नो लागि मात्र गर्नु हुन्न, अरुको लागि पनि रोजगारी र अवसर सिर्जना गर्नुपर्छ भन्ने बुबाको भनाईबाट प्रेरित भई बेलायतमा पढाइ सक्नासाथ फर्किएर व्यवसाय थालेकी अस्मी राणा र जर्मनीमा पर्ढाई सक्नासाथ नेपाल फर्किएर पुरातात्विक सम्पदा संरक्षणमा लागेका रविन्द्र पुरीले प्राप्त गरेको उचाई प्रेरणादायी छन् । पुरीलाई सम्पदा संरक्षणमा लाग्दा अरुले पागल भन्थे । तर, जब सन् २००४ मा युनेस्को अवार्ड हात पारे, त्यसपछि प्रशंसा गर्ने र सहयोग गर्ने हृवात्तै बढेका छन् ।

    काठमाडौंकी दिलशोभा श्रेष्ठले असहाय वृद्धवृद्धालाई घरमा ल्याएर स्याहारसम्भार गर्न थाल्दा कुरा काट्नेहरुको मुख अहिले टालिएको छ । उनी अचेल प्रशंसाकी पात्र बनेकी छन् । उनको अभियानलाई सहयोग गर्न चाहनेको संख्या बढेको छ ।

    सस्तोमा गुणस्तरीय शिक्षा दिने अभियानका लागेका उत्तम सञ्जेल, निरक्षर भएपनि अन्य महिलालाई पढ्न, आयमुलक काममा लाग्न प्रेरित गर्ने मकवानपुरकी चमेली वाइवाबाट हामीले पाठ सिक्नुपर्ने हो ।

    डडेलधुरास्थित टीम अस्पतालमा कार्यरत डा. अरुण बुढाले प्राप्त गरेको ख्यातिको पृष्ठभूमि कम मार्मिक छैन । कुष्ठरोगको उपचार गराउन आएका बेला भेट भएर विवाह गरी अस्पतालमै परिचरका रुपमा काम गर्न थालेका दम्पत्तिले दुइ वटै छोरालाई डाक्टर बनाए । ती दुइमध्ये जेठा अरुण टीम अस्पतालमै अरु कुष्ठरोगीलगायतको उपचारमा तल्लीन छन् । विरामीलाई गर्ने व्यवहार र उपचार शैलीका कारण उनी लोकप्रिय छन् ।

    हामी अधिकतर युवा चाहिं अर्काको कथा पढिञ्जेल/सुनिञ्जेल प्रभावित हुन्छौं । तर, गन्तव्य ताकेर अघि बढ्दैनौं, अघि बढिहाल्यौं भने पनि बीचतैमा छाडिदिन्छौं । जोन उडको 'माइक्रोेसफ्टदेखि बाहुनडाँडासम्म’ पुस्तक पढेपछि आफ्नो गाउँको स्कुलमा पुस्तकालय खोल्न जुटेका जमुना, इलामका कुमार गुरुङको अभियान अहिले कहाँ पुग्यो कुन्नि ?

    सफलता हाशिल गर्न राम्रो परिवारमा हुकर्नु र राम्रो विद्यालयमा पढ्नु नपर्ने रहेछ भन्ने उदाहरण जयराम नेपाली र इन्द्र आचार्य कार्यशालामै थिए । जयरामले कथित तल्लो जात हुनुको परिणाम झेल्दै गाउँको सरकारी स्कुलमा पढे तर संर्घष्ामा अविचलित रहे । उनी अहिले टुडेज युथ एसियामा आवद्ध छन्, विभिन्न मुलुकमा घुमेर अनुभव साटासाट गर्ने र सिक्ने मौका पाएका छन् ।

    इन्द्र भुटानी शरणार्थी हुन् । अर्कालाई मागेर राम्रो लगाउनुपर्ने अवस्थाबाट गुज्रदै अघि बढेका उनी अहिले काठमाडौंका चर्चित कलेजहरुमा पढाउँछन्, अध्ययन र कार्यशालामा सहभागी हुन विदेश गइरहन्छन् । जयराम र इन्द्र अवसर पाइएन, बेरोजगार भइयो, पारिवारिक पृष्ठभूमि राम्रो भएन भन्ने युवाको ठाडै प्रतिवाद गर्छन् । मिहेनत र संर्घष्ाले आफै अवसर सिर्जना गर्छ भन्ने उनीहरुको तर्क हो ।

    हामी युवाले मौकालाई चिन्न सक्नुपर्छ भन्ने उदाहरण कार्यशालामै थिए निशान्त गौचन । नेपालमा चार वर्षघि बी-बोइङ डान्स भित्रदै गर्दा निशान्तले पर्ढाई चटक्कै छाडे अनि विदेशी प्रशिक्षकबाट डान्स सिके । अहिले उनी बी-बोइङका अगुवा नेपाली प्रशिक्षक हुन् । युवाहरुमाझ बी-बोइङको चर्चा चुलिंदै जाँदा उनको मानसम्मान र आम्दानी पनि बढ्दैछ ।

    बी-बोइङका प्रशिक्षकले हिजोआज मासिक ३०-४० हजार रुपैयाँसम्म कमाउँछन् । राजधानीका सांगीतिक कार्यक्रममा बाक्लै देखिने निशान्तको १० सदस्यीय समूहले १० मिनेट नाच्दा न्युनतम दुइ हजार रुपैयाँ लिन्छ ।

    हामी धेरै चाहिं गुणस्तरीय शिक्षा भएन, अवसर छैन, काम गर्ने वातावरण छैन, सरकारले केही गरेन भन्दै हात बाँधेर बस्छौं । हरेक कुरालाई नकारात्मक दृष्टिले हेर्र्छौं र विश्लेषण गर्र्छौं । सकारात्मक तरिकाले सोच्ने बानीको विकास गरिहेरौं न । हाम्रो दिमागमा पनि सिर्जनात्मक काम गर्ने केही न केही उपाय आउला कि !    किनभने युवाहरु भविष्यका कर्ण्र्ाारमात्र होइनन्, वर्तमानका राष्ट्र निर्माता पनि हुन् ।

इलाम पोष्ट दैनिक २०६८ जेठ १८ गते प्रकाशित
  
  
  

No comments:

Post a Comment