Tuesday, June 7, 2011

लेखाइका ऐजेरु

नयाँ र अप्ठेरो खालको शव्द प्रयोग गर्ने लेखक साहित्यकार जान्ने र राम्रा हुन् । लामो वाक्यमा लेख्न सक्ने र घण्टौं भाषण गर्नसक्ने मानिस विद्धान हुन् । यस्ता सबै सोचाइ भ्रम रहेछन् । कठिन शव्द भएका लेख र पुस्तक कम मानिसले पढ्दारहेछन् । लामो भाषण पनि नसुन्दारहेछन् ।
सरल शव्द र छोटो वाक्यमा लेख्नेले बढी पाठक पाउँदोरहेछ र प्रशिद्धि कमाउँदोरहेछ । मुनामदन यस्तै एउटा उदाहरण हो । सात दशकअघि लेखिएको मुनामदन अहिले पनि लोकपि्रय छ । कर्णाली ब्लुज पल्पसा क्याफे छापामार युवतीको डायरीका पाठक बढ्नुको एउटा कारण सरल भाषाशैली हो । भारतमा अचेल चेतन भगतका पुस्तकहरु बढी बिक्छन् । यसको कारण पनि सरल भाषा शैली नै हो
कृति;लेख लेखिनु ठूलो कुरा होइन अरुले पढिदिनु महत्वपूर्ण हो । आफूसरह र आफूभन्दा जान्ने व्यक्तिलाई मात्र पाठक सोच्नु हुँदैन ।
हामी सानै छँदादेखि नेपाली पढ्छौं तर शिक्षकले भाषाप्रति कहिल्यै गम्भीर बनाउँदैनन् । हामी आफै गम्भीर बन्ने त कुरै भएन । बरु नेपालीलाई सजिलो विषय भनेर हेलचेक्र्याई गरिदिन्छौं । नियालेर हेर्यौं भने हामीले पढेको पाठ्पुस्तकमै प्रशस्त गल्ती भेट्छौं । शिक्षकले प्रयोग गर्ने शव्द र वाक्यको त कुरै छाडौं ।
मैले क्याम्पस पढ्दा नेपालीलाई मुल विषय बनाइनँ । त्यसैले व्याकरणका नियमहरुमा उतिसारो ध्यान गएन । सूचना प्रवाह गर्ने मिडिया क्षेत्रमा लागेपछि यसमा चासो राख्नै पर्ने रहेछ । जति जान्यो उति राम्रो हुने रहेछ । लेखाइकै आधारमा नयाँ हो कि पुरानो हो राम्रो या ठीक-ठीकैको हो पत्रकार छुट्टिन्छन् ।
सामान्य साक्षर पाठकलाई लक्षित बनाएर पत्रिकामा लेख्नुपर्छ । अझ रेडियो सुन्ने त निरक्षर पनि हुन्छन् । भन्न खोजेको कुरा ठीक तरिकाले बुझियो भने मात्र समाचार हुन्छ । अर्कै अर्थमा बुझियो या बुझ्दै बुझिएन भने समाचार भएको अर्थ लगाउन सकिदैन ।
गलत तथा कठिन शव्दको प्रयोग र व्याकरणमा हेलचेक्र्याई गर्दा सही ढंगले बुझ्न सकिदैन । लेख्ने/बोल्नेले पाठक/स्रोतालाई सहज तरिकाले बुझाइदिनुपर्छ । अर्थ खोज्न शव्दकोश पल्टाउन नपरोस् । लेख्नेलाई नै फोन गरेर/चिठी लेखेर अर्थ सोध्ने कुरा भएन । मधेसी समुदायका एक जना पत्रकारले भनेको कुरा संझन्छु । ठेट र घुमाउरो भाषा प्रयोग गर्ने खगेन्द्र संग्रौलाको लेख तराईबासीले पढ्दैनन् । उनको लेख पढ्न शव्दकोश साथमै हुनुपर्छ; उनी भन्थे ।
हाम्रो व्याकरण चाहिं रहस्यमय छ । ह्रस्व दीर्घ पदयोग/वियोगका बारेमा चाहिं नियम बुझेर/जानेर साध्य छैन । अपवाद नै अपवादका नियम छन् । कुन भाषा, शैली प्रयोग गर्ने भन्नेमा सधैं अलमल्ल हुनुपर्छ । एकथरिले ह्रस्व लेख्नुपर्छ भनेको शव्द अर्को थरिले दीघ लेख्नुपर्छ भन्छन् । पदयोग र वियोगको कुरा पनि त्यही हो । पूरालाई पुरा, स्कूललाई स्कुल, कानूनलाई कानुन, दशलाई दस लेख्ने जमात बढ्न थालेको छ । हुन त यसमा विवाद कायमै छ । हलन्त तथा  न र ण प्रयोग गर्ने सन्दर्भमा पनि त्यस्तै छ ।
भाषाविदहरुले नियममा एकरुपता ल्याउन पहल नगरेका होइनन् । उनीहरु पटक-पटक छलफल गर्छन् । तर आ-आफ्नै तर्क र अडान नछाड्नाले निश्कर्षमा पुग्दैनन् । त्यसैले हामीजस्ता सामान्य लेख्नेले ह्रस्व-दीर्घमा उतिसारो गम्भीर बनिरहनु नपर्ला ।
हामीले ख्याल गर्नुपर्ने चाहिं शव्द चयनमा रहेछ । अर्थ नबुझी शव्द प्रयोग गर्दा गलत सन्देश जाने रहेछ । लामो वाक्यले अलमल्याउँछ । वाक्य छोटो पार्न समस्या छैन । हाम्रो बानीमात्र बिगि्रएको हो । थोरै ख्याल गर्ने हो भने पनि हामी वाक्यलाई छोटो बनाउन सक्छौं ।
वाक्य लामा र बुझ्न कठिन हुने केही कारणहरु केलाऔं । हामी शव्दकोशमै नभएका शव्द लेख्दारहेछौं । धुम्रपानले ध्वाँसो भन्ने अर्थ बुझाउँदोरहेछ । हामीले भन्न खोजेको धूमपान रहेछ । निषेधित शव्दकोषमा छैन । निशिद्धलाई आफूखुशी निशेधित बनाइरहेका छौं । सुचारुको अर्थ सुन्दर; राम्रो भन्ने रहेछ तर हामीले साचालन भएको अर्थमा प्रयोग गरिरहेका छौं । असक्षमको सट्टा अक्षम बाहुल्यताको सट्टा बहुलता प्रयोग गर्नुपर्ने रहेछ । कतिपय अवस्थामा थर लेख्दा पनि ख्याल गर्नुपर्छ । शाहले ठकुरी जनाउँछ साहले मधेसी जनाउँछ । यी उदाहरणमात्र हुन् । खोज्दै जाने हो भने हाम्रा लेखाइमा असंख्य गल्ती भेटिन्छ ।
कठिन शव्दको विकल्पमा सरल शव्द प्रशस्त्र भेटिन्छ । हाम्रो लेखाइ सरल हुनुपर्छ । उच्चारण गर्न र लेख्न सजिलो छ भने पढ्न र बुझ्न पनि सजिलो हुन्छ । कृषकको सट्टा किसान पृष्ठको सट्टा पेज आश्विनको सट्टा असोज आरम्भ/प्रारम्भको सट्टा सुरु झन् राम्रो र सजिलो हुदैन र !  दुई शव्दको सवारी साधनको सट्टा एक शव्दको गाडी लेख्दा पो अझ प्रष्ट हुन्छ कि ! सवारी साधनले घोडा उँटलाई समेत अथ्र्याउँछ कि ! लामो शव्द स्थानीयवासीहरुको सट्टा छोटो स्थानीयमात्र लेख्दा अर्थमा के फरक पर्ला  दुई शव्दको निकट समयको सट्टा एक शव्दको चाँडै भन्न र सुन्न सजिलो होइन र !
हाम्रो लेखाइमा ऐंजेरुले भरिएको हुन्छ । एउटै अर्थ लाग्ने दुई वा सोभन्दा बढी शव्द प्रयोग गरिरहेका हुन्छौं । त्यसले वाक्यलाई लामो र भद्दा बनाइरहेको हुन्छ । योजनामा अगाडि भावी वा भविष्यको ऐंजेरु लगाइदिन्छौं । योजना सधैं भविष्यकै हुन्छ । इतिहासको अघि विगतको/वितेको जस्ता ऐंजेरु लागिरहेको हुन्छ ।  अनुभवको अगाडि पूर्व/पहिलेको जोडिरहनु परेन । कालो मोसो दोहोरो भिडन्त युगल जोडी पनि त्यस्तै उदाहरण हुन् ।
धेरैले कष्टकर र कष्टप्रदलाई उल्टो अर्थमा प्रयोग गर्छन् । अधिकांश सबै ठाउँमा प्रयोग गर्न मिल्दैन । गन्न नसकिने सन्दर्भमा मात्र अधिकांश उपयुक्त हुन्छ । गन्न सकिने भए अधिकतर प्रयोग गर्नुपर्छ । एड्स लाग्छ कि हुन्छ खुट्याउनुपर्छ । दोब्बर बढ्दा र दोब्बर हुँदा अर्थमा फरक पर्छ कि पर्दैन ।
हरु थपिदा मात्र बहुवचन जनाउँछ भन्ने भ्रमले पनि समस्या पर्छ । जनता स्थानीय जस्ता शव्दले हेर्दा एकवचनजस्ता देखिए पनि बहुवचन जनाउँछन् । यस्ता शव्दमा हरु थप्नु आवश्यक नै छैन । लेखाइमा बोलीचालीको शव्द रुचाइन्छ । तर यसो भन्दैमा भाषा र व्याकरण बिगार्न पनि मिल्दैन । सरलताका नाममा असभ्य शव्द प्रयोग गर्नु पनि हुँदैन ।
शव्दलाई मात्र ख्याल गर्ने हो भने पनि लेखाइ सरल बन्ने रहेछ । वाक्य छोटो हुने रहेछ । भन्नेले त भन्छन्न-'जानी गरेको मात्र गल्ती हो । जानी-जानी गरेको चाहिं शैली हो ।' शैली भन्दै भाषा बिगार्दै हिड्ने कि सुधार्ने तपाईकै हातमा छ ।


इलाम पोष्ट दैनिकमा २०६८ जेठ ४ र ब्लाष्ट टाइम्स दैनिकमा जे १५ गते प्रकाशित ।

No comments:

Post a Comment