Saturday, February 15, 2014

किराती भाका

तेह्रथुममा जन्मिएर मोरङमा हुर्किएका भगत सुब्बा २०३४ सालमा स्वर परीक्षा पास गरेपछि लिम्बू भाषाको गीत रेकर्ड गर्न रेडियो नेपाल छिरे । तर गाउन पाएनन् । ‘त्यसअघि लिम्बू भाषामा गीत रेकर्ड भएकै थिएन । त्यसैले मलाई मातृभाषामा गीत गाउने जोस चल्यो,’ हाल हङकङ बस्दै आएका उनले संस्मरणमा लेखेका छन्, ‘तर मातृभाषामा गाउन मिल्दैन भनेर दिएनन् ।’
रेडियोकै कर्मचारीको परामर्शमा सुब्बाले त्यसपछि राजाकहाँ विन्तीपत्र चढाए । लिम्बू कलाकारले गाउन पाउने, तर लिम्बू भाषामा गाउन नपाउने ‘हुकुम’ राजाबाट आयो । उनले त्यसपछि रेडियोमा नेपाली भाषाको गीत कहिल्यै गाएनन् । त्यतिबेला स्वरपरीक्षा पास गर्नेले छ महिनामा तीनवटा गीत गाउन पाउँथ्यो ।
मातृभाषाको गीत धीत मर्नेगरी रेकर्ड गर्नलाई सुब्बाले प्रजातन्त्र पुनर्बहाली नै कुर्नुप¥यो । २०४८ सालमा उनले म्युजिक नेपालमार्फत लिम्बू भाषाको गीति एल्बम ‘याक्थुङ साम्लो’ निकाले । त्यसपछि लिम्बू भाषामा अन्यले पनि गीत गाउन थाले । किरात राई (बान्तवा, चाम्लिङ, खालिङ) भाषाका गीत पनि रेकर्ड भएर धमाधम आउन थाले ।
...
ढिलो लयका कम्पनयुक्त स्वर भएका र बाँसुरी, ढोल, टुंगुना, बिनायोजस्ता बाजा बजाइएका गीत पूर्वेली भनेर चिन्ने गरिन्छ । लोकगायक तुलसी पराजुली पूर्वेली लोकगीतलाई छुट्याउने स्पष्ट आधार नरहेको बताउँछन् । ‘ढिलो लयका, अलि भद्दा मादल बजाइएका गीत ठेट पूर्वेली हुन्,’ उनले भने ।
अर्का गायक एवं किरात राई सांस्कृतिक कलाकार संघका पूर्वअध्यक्ष जितेन राईका अनुसार पूर्वेली गीतमा लयात्मक पाराको कम्पनयुक्त स्वर हुन्छ, यस्तो कम्पन (थ्रिलिङ) अन्य गीतमा पाइँदैन । ‘पूर्वेली गीतमा मुरली, बाँसुरी, टुंगुना, ढोल, च्याब्रुङ, झ्याम्टा, बिनायोको प्रयोग हुन्छ । नरसिंगा र सहनाइको आवाजमा पनि फरक हुन्छ,’ उनले भने, ‘तर हिजोआजका पूर्वेली गीतमा मौलिकता हराउँदै गएको छ ।’
पूर्वेली लोकगीतमा पूर्वी नेपालमा बसोबास गर्ने विभिन्न जातजातिको लोकसंस्कृति झल्किन्छ । अधिकांश पूर्वेली गीत किराती लोकलयसँग मिल्दाजुल्दा छन् । त्यसैले किरात समुदायका अग्रज कलाकारहरू पूर्वेली लोकगीतको मूल स्रोत नै किराती लोकसंस्कृति भएको दाबी गर्छन् । नेपाल ‘विस्तार’अघि पूर्वी नेपालमा किरातको बसोबास रहेको र पछाडि अन्यत्रबाट बसाइँ सरेर आएका जातजाति पनि किरात संस्कृतिबाट प्रभावित भएको उनीहरूको तर्क छ ।
लोकगायक पराजुली पनि पूर्वेली लोकगीतमा किराती लोकलयको प्रभाव रहेको बताउँछन्  । ‘बसोबासका कारण नेपालीभाषीमा किराती लवजको प्रभाव छ,’ उनले भने, ‘त्यसले गीतमा पनि प्रभाव पारेको छ ।’
लोकगायक राई अहिले नेपालमा चलेका लोक तथा फिल्मी गीतमा पनि पालाम, हाक्पारे, ख्याली, साकेलालगायत किराती गीत–संगीतको प्रभाव देखिने दाबी गर्छन् । ‘नेपालमै चलेका फिल्मीलगायतका गीत–संगीत किराती लोकसंस्कृतिबाट सिर्जित र प्रभावित हुन्,’ राई भन्छन्, ‘तर यसो भन्दा हामीलाई संकीर्णताको आरोप लाग्छ ।’
...
प्रजातन्त्र पुनर्बहालीअघि रेडियो नेपालको फूलबारी कार्यक्रममा विभिन्न भाषाका गीत बज्थे । ‘सातामा एकचोटि फूलबारी प्रसारण हुन्थ्यो, रेकर्डिङ नै राम्रो हुँदैनथ्यो,’ रेडियो नेपालका पूर्वकर्मचारीसमेत रहेका गायक राईले सुनाए, ‘त्यसले मातृभाषाको गीतलाई प्रवद्र्धन गरेन ।’
२०३६ सालमा जनमत संग्रह घोषणा भएपछि तत्कालीन राजा वीरेन्द्रले सुझाव माग्दा भगत सुब्बालगायतका लिम्बू कलाकारले रेडियोमा लिम्बू भाषाको गीत गाउन पाउनुपर्ने माग गरेका थिए । त्यसपछि अनुवाद गरेर दरबारमा पठाउने सर्तमा गीत गाउने अनुमति मिल्यो । तर २०३७ सालमा भएको जनमत संग्रहमा पञ्चायतले जितेपछि गीत रेकर्ड गर्ने मौका गुमेको सुब्बाले जनाएका छन् ।
सीमापारि सिक्किममा भने लिम्बू भाषाका गीत सन् १९८२ (विसं २०३९) देखि रेकर्ड हुन थालेका हुन् । सिक्किमका वरिष्ठ गायक एवं संगीतकार बिबी मुरिङलाका अनुसार आकाशवाणी गान्तोकले लिम्बू भाषाको गीत १९८३ अप्रिल ३ देखि प्रसारण गर्ने अनुमति पाएपछि गाउँ–गाउँबाट लोकगीत संकलन गरिएको थियो । ‘रेडियोमा बजाउन लोकआधुनिक र आधुनिक गीत पनि चाहिएकाले मेरै शव्द, संगीत र स्वरमा रेकर्ड गराएँ,’ मुरिङलाले नागरिकलाई सुनाए । उनले आफ्नै शव्द–संगीतका ६० गीत रेकर्ड गराएका छन् ।
नेपालमा लिम्बू गीत गाउने र सुन्ने लहर सुब्बाले नै ल्याएका हुन् । उनले लगातार सातवटा एल्बम बजारमा ल्याए । पचासको दशक सुरुआततिर राई भाषामा पनि गीति एल्बम आउन थाल्यो । पूर्वेली लोकगीत गाइरहेका जितेन राईले मातृभाषाको ‘स्यामुना’ एल्बम २०५० सालमा ल्याए ।
...
आधिकारिक तथ्यांक त छैन, तर लिम्बू कलाकारहरू दाबी गर्छन्– आदिवासी  जनजातिमा सबभन्दा बढी गीत लिम्बू भाषाकै छ । गायक एवं फक्ताङलुङ सयङका पूर्वअध्यक्ष धनवीर साँवा बर्सेनि चार÷पाँचवटा लिम्बू गीति एल्बम बजारमा आइरहेको बताउँछन् । ‘नेपालीबाहेक अन्य भाषामा यतिधेरै गीत तयार हुँदैनन्,’ उनले भने, ‘कतिपय जातजाति त आफ्नो संस्कृतिसँग सम्बन्धित धुन र बाजा प्रयोग गरेर नेपाली भाषामै गीत तयार गर्छन् ।’
लिम्बूभन्दा राईको जनसंख्या बढी छ । नाम चलेका गायक–गायिका पनि राई जातिका धेरै छन् । मातृभाषाका गीत भने उतिधेरै तयार भएका छैनन् । भाषिक समस्याका कारण गीत–संगीत अपेक्षित प्रवद्र्धन हुन नसकेको राई समुदायका कलाकार बताउँछन् । राई जातिमा थर (पाछा)पिच्छे  भाषा फरक हुन्छ, एकले अर्को बुझ्दैनन् ।
प्रजातन्त्र पुनर्बहालीपछि आएको जातीय सांस्कृतिक जागरण र पहिचानको आन्दोलनले मातृभाषाका गीत–संगीतलाई टेवा पु¥याएको कलाकारहरू बताउँछन् । एफएम रेडियोले पनि प्रचारप्रसारमा साथ दिए । पछिल्लो समय खुलेका इना, युमालगायतका क्यासेट सेन्टरले किरात लोकसंस्कृतिमा आधारित गीत रेकर्ड गर्न सहज बनाए । लिम्बू भाषा र संस्कृतिका फिल्म पनि बन्ने क्रम बढ्यो ।
अहिले किरात संस्कृतिसँग सम्बन्धित लय र बाजा प्रयोग गरेर नेपाली भाषामा गीत बनाउने क्रम पनि बढेको छ । त्यस्तै, राई–लिम्बू भाषामै आधुनिक तथा पपगीत पनि गाइएका छन् । नेपाली भाषाका गीत गाएर स्थापित भइसकेका राजेशपायल राई, दीपक लिम्बू, खगेन्द्र यक्सोलगायतका कलाकारले मातृभाषामा पनि गीत गाउन थालेका छन् ।  
लिम्बू भाषाको गीत गाउनेमध्ये अग्रपंक्तिमा मनु नेम्वाङ छिन् भने गीत लेख्नेमा यासेली योङहाङ आउँछन् । मातृभाषामै गाउन थालेकी नेम्वाङका करिब साढे ३ सय गीत रेकर्ड भएका छन् । उनले २०५४ सालमा आनी साक्थिम नामक लिम्बू फिल्मका लागि पहिलो गीत गाएकी थिइन् । लिम्बू लोकलयका नेपाली गीत पनि गाएकी नेम्वाङले भनिन्, ‘पालाम र हाक्पारे बढी चलेका छन् ।’
योङहाङले मातृभाषामा लेखेका १ सय ९२ वटा गीत रेकर्ड भएका छन् । पहिले जागरणका गीत लेख्ने उनी अचेल दर्शनका गीत लेख्छन् । उनले हाक्पारे र पालाम पनि गाएका छन् ।
लिम्बू भाषामा गीत गाउने क्रम बढे पनि बजार भने सानो छ । मातृभाषा नबुझ्ने पुस्ता हुर्कंदैछ । कमाउनभन्दा पनि भाषा–संस्कृति जोगाउन भनेर यसमा लागेको पुराना पुस्ताका कलाकार बताउँछन् । ‘२०५० सालमै मेरो गीत रेकर्ड हुन थालेको हो, तर पारिश्रमिक लिन थालेको चार÷पाँच वर्ष मात्र हुँदैछ,’ गीतकार योङहाङ भन्छन्, ‘पारिश्रमिक पनि म तोक्दिनँ । स्वेच्छाले दिन्छन्, थाप्छु ।’
अहिलेसम्म तीनवटा एल्बम बजारमा ल्याएका गायक साँवा कमाउन नसके पनि लगानी उठाउन खासै गाह्रो नहुने बताउँछन् । ‘पसलबाट एल्बम खासै बिक्री हुँदैन,’ उनी भन्छन्, ‘तर ‘पुस सेल’ गर्न गाह्रो छैन ।’
व्यावसायिक रूपमा सबल बन्ने अवस्था नभए पनि क्रेज बढ्दो छ । गायिका नेम्वाङ भन्छिन्, ‘पालाम–हाक्पारे गाउनु भनेको आफ्नै घरमा बस्नु जस्तै हो । यहाँ पाइने सहजता र आनन्द अरुतिर पाइँदैन ।’
(नागरिक दैनिक २०७० फागुन ३ गते प्रकाशित)

No comments:

Post a Comment