Saturday, February 22, 2014

घट्दो मोह !

सरकारले किपट खारेज गरिदिएपछि सुब्बाहरू चिढिने भइहाले । तिनै चिढिएकामध्ये पाँचथर इम्बुङका पाँच सुब्बाले २०३५ सालमा दसैं नमनाउने निर्णय गरे । ती पाँच थिए– स्वरूपसिं नेम्वाङ, फौदरूप नेम्वाङ, धनप्रसाद नेम्वाङ, नारद नेम्वाङ र दलमान नेम्वाङ । ‘राजाप्रति सुब्बाहरूको त्यो सांकेतिक विरोध थियो,’ त्यतिबेला ती सुब्बालाई उक्साउने इम्बुङकै वीर नेम्वाङले सुनाए, ‘किनभने दसैं लिम्बूको मौलिक थिएन, राजाले २ सय वर्षअघि लादिदिएको चाड थियो ।’
इम्बुङका पाँच सुब्बाको कदमप्रति त्यतिबेला कतैबाट पनि खासै नकारात्मक प्रतिक्रिया आएन । त्यसैले उनीहरूलाई अनुसरण गर्दै दसैं नमनाउने क्रम बढ्न थाल्यो । त्यतिबेला लिम्बू भाषा, संस्कृति र इतिहासको स्वअध्ययनमा लागेका वीर नेम्वाङले नै पाँचथरमा दसैं मौलिक चाड होइन भन्ने सन्देश फैलाउँदै गए । ‘म साम्प्रदायिक थिइनँ तर लिम्बू भाषाको स्कुल खोल्दा मलाई जेल हालियो,’ उनले सुनाए, ‘त्यसपछि भाषा, संस्कृति र इतिहास अध्ययनमा झन् मजाले लागेँ ।  आफ्नै चाडपर्व, संस्कृति संरक्षण गर्नुपर्छ भनेर अरूलाई कन्भिन्स गराउन थालेँ । बहुदलीय व्यवस्था आएपछि गोरबहादुर खपांगी, गोपाल गुरुङलगायतले त दसैं बहिष्कार अभियान नै चलाए ।’
सूचना प्रविधिको तीव्र विकास, शैक्षिक जागरण, घुमफिर तथा घुलमेल वृद्धिले चाडपर्वहरू पछिल्लो समय जातिविशेषमा मात्र सीमित हुन छाडेका छन् । छठ, तीज एउटै जाति÷समुदायमा सीमित हुन छाडे । क्वाँटी खाने चलन नेवार समुदायको घेरा तोड्दै अन्य जातिमा विस्तार भएको छ । तर, नेपालकै सबभन्दा ठूलो चाड दसैंलाई भने हिन्दू धर्मावलम्बीको मात्र हो भनेर आदिवासी जनजातिले मनाउन छाड्दै गएका छन् । त्यसो त दसैंलाई जाति÷धर्म विशेषसँग मात्र जोड्न नमिल्ने तर्क गर्ने जनजातिहरू पनि नभएका होइनन् । कतिपयले त दसैं जनजातिको पनि हो भनेर पनि तर्क गर्छन् ।
जातीय संस्थाका अनुसार अहिले नेपालका आदिवासी जनजातिमध्ये आधाभन्दा कमले मात्र दसैं मनाउँछन् । भेटघाट र खानपिनमा रमाइलो गर्नुलाई पनि दसैं मनाएको मान्ने हो भने अर्कै होला । दसैंमा आफूभन्दा ठूलोबाट अक्षताको टीका थाप्ने क्रम चाहिँ घटेको छ । ‘पहिचानको आन्दोलन व्यापक भएपछि आदिवासी जनजाति समुदायमा दसैंभन्दा मौलिक चाडले महŒव पाउन थाल्यो,’ किरात याक्थुङ चुम्लुङका अध्यक्ष उक्तमसिं थाङदेन भन्छन् ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल आफ्नो संस्कृतिलाई जगेर्ना गर्ने लहरले गर्दा आदिवासी जनजातिले दसैंलाई कम प्राथमिकता दिन थालेको बताउँछन् । ‘हामी दसैंको विरोध गर्दैनौं तर यो जनजातिको मौलिक चाड नभएकाले कम प्राथमिकतामा पर्न थालेको हो,’ उनले भने ।
बहुदलीय व्यवस्था पुनर्बहालीपछि बर्गेल्ती जातीय संस्था तथा संगठन खुले । तिनीहरूले आदिवासी जनजाति समुदायलाई मौलिक पर्व मनाउन प्रेरित गरे । ती संस्था गाउँ–गाउँमा विस्तार भए र तिनमा आबद्धले ‘नैतिकता’का आधारमा पनि दसैं मनाउन छाडे ।
राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेसनल अर्गनाइजेसनलगायतले त दुई दसकअघि दसैं बहिष्कार अभियान नै चलाएका थिए । ‘बहिष्कार नै गर्ने नीति त हाम्रो थिएन तर आफ्नै चाडलाई प्राथमिकता दिऊँ भनेर हामी लाग्यौं,’ राष्ट्रिय जनमुक्ति पार्टी राज्य समितिका संगठन सचिव लोक आङलाले भने । यहीबीचमा धर्म परिवर्तन गरेर क्रिस्चियन हुने क्रम पनि बढ्यो । क्रिस्चियन भइसकेकालाई दसैं आयो, गयो केही मतलब हुन छाड्यो ।
इतिहासविद मोहनसिं थेबेका अनुसार पृथ्वीनारायण शाहकै पालादेखि स्थानीय प्रशासनिक एजेन्ट खडा गरेर दसैं पनि लागू गरिएको हो । पूर्वी पहाडमा भने लिम्बू सुब्बाले १८४२ सालमा दसैं भित्र्याए । ‘ठाउँ–ठाउँमा विद्रोह गर्न हुन थालेपछि पाँचथरका सुब्बाहरू राजा भेट्न गएका थिए । त्यहीबेला राजाले ढाल, तरबार, खुँडा, त्रिशूल, नगरा, निशान, बन्दुकलगायत सामग्री जिम्मा लगाए र दसैंको नवमीमा मौलो थापी बलि पूजा गर्न निर्देशन दिए । तिनीहरू फर्केपछि दसैं मनाउन सुरु भयो,’ उनले भने ।
मौलो पूजामा बोका काट्ने चलन भए पनि तत्कालीन राजा राजेन्द्रविक्रम शाहले १८६२ सालदेखि राँगा काट्न निर्देशन दिएका थिए । तर सबै सुब्बा राँगा बलि चढाउने हैसियतमा नभएको जाहेर भएपछि १८९१ मा नसक्नेले नकाटे पनि हुने निर्देशन भयो । दसैं आफन्त भेटघाट गर्ने, ससुराली÷मावली÷माइती जाने अवसर पनि बन्यो ।
थेबेका अनुसार जंगबहादुर राणाका पालामा दसैंलाई कडाइका साथ लागू गरिएको थियो । दसैं माने कि मानेनन् भनेर निगरानी गर्न राजाले सिपाही खटाउँथे । घरमा मार काटेर दुर्गापूजा गरेको प्रमाणस्वरूप मूल प्रवेशद्वारको दायाँ–बायाँ आलो रगतको पन्जाछाप लगाउनुपथ्र्यो । दसैं नमनाएको अभियोगमा १९४२ सालमा धनकुटाका रामलिहाङ आठपहरिया र रिदामा आठपहरियाको हत्या भएको थियो । तर आठपहरिया समुदायले टेरेन र कहिल्यै दसंै मनाएन ।
अमाली, राई, जिमिदार, तालुकदार, थरी मुखिया, सुब्बाहरूले प्रशासनिक इकाइसरह काम गर्थे । स्थानीयले आशीर्वाद लिने र अभिभावकत्व ग्रहण तथा प्रशासनिक इकाइको अधीनस्थ नवीकरण गर्ने माध्यम दसैं बनेको थियो । ती प्रशासनिक इकाइले मान्यता पाउन छाडेपछि दसैं मनाउनुको औचित्य पनि सकिएको कतिपयको तर्क छ ।
पहिले धेरै परिवारमा नयाँ लुगा फेर्न, मिठो–मसिनो खान, आफन्त भेट्न दसैं नै कुर्नुपर्ने अवस्था थियो । अहिले त्यो अवस्था फेरिँदै गएकाले र जातीय संस्थाले पहिचानको मुद्दालाई प्राथमिकता दिन थालेकाले दसैंको रौनक जनजाति समुदायमा घटेको छ । स्वेच्छाले भन्दा पनि जबर्जस्ती लादिएको भन्ने सन्देश प्रवाहले र मनाउँदा खर्चालु हुने भएकाले पनि धेरैमा दसैंप्रति मोह हराउँदै गएको छ ।
जनजातिको बाहुल्य भएको ठाउँमा अचेल दसैं मनाउने अत्यन्त कम भेटिन्छन् । तर बाहुन÷क्षेत्रीसँग छासमिस बसोबास भएको ठाउँका जनजातिले भने दसैं मनाउँदै आएका छन् । पूर्वी पहाडका केही ठाउँमा निशान, मौलो पूजाले पनि निरन्तरता पाइरहेको छ ।
टीका लगाउन छाडे पनि लामो सार्वजनिक बिदा हुनाले धेरैले दसैंलाई भेटघाट र रमाइलो गर्ने अवसरको रूपमा भने उपयोग गर्दै आएका छन् । ‘राज्यले दसैंलाई प्राथमिकता दिएको छ । कर्मचारीले भत्ता थापेका हुन्छन्, बिदा पनि लामो हुन्छ । यतिबेला अरू खास काम  हुँदैन । त्यसैले भेटघाट र खानपिनमा समय कटाउनुपर्छ,’ जनजाति महासंघका अध्यक्ष कुमाल भन्छन् । उनी मुलुक धर्म निरपेक्ष भइसकेकाले सरकारले सबै चाडपर्वलाई समान प्राथमिकता दिनुपर्ने बताउँछन् र दसैं बिदा घटाउनुपर्नेमा जोड दिन्छन् ।
जनजाति समुदायले तिहारलाई भने उल्लासका साथ मनाउँछन् । दसैंको सट्टा तिहारमा घर सिँगार्ने बढेका छन् । जातीय मौलिक चाड पनि भव्यताका साथ मनाउने क्रम बढेको छ । एक दिनमा सीमित हुुँदै आएका जातीय चाड तीन दिनसम्म मनाउन थालिएको छ । उँभौली–उँधौली पूजा १५ दिनसम्म तन्किएको छ ।
समाजशास्त्री चैतन्य मिश्र चाडपर्वको प्राथमिकता र विरोधलाई अस्वाभाविक मान्दैनन् । ‘तर, संस्कृति छ्यासमिसे बन्ने प्रक्रियामा छ । सांस्कृतिक लेनदेन बढ्दैछ,’ उनी भन्छन्, ‘हामी सांस्कृतिक बहुलतातिर उन्मुख भएकाले यस्ता अन्तरविरोध विस्तारै हट्दै जान्छन् ।’
सेतो टीका
किरात समुदायमा दसैंका बेला सेतो टीका लगाउने चलन छ । मिश्रित बसोबास भएको ठाउँमा भने जनजातिले रातो टीका पनि लगाउँछन् ।
सेतो टीका नै लगाउनुको कारणबारे विभिन्न तर्क सुनिन्छ । ‘पितापुर्खादेखि नै शुभकार्यमा सेतो टीका लगाउने चलन थियो । दसैंमा त्यसैले निरन्तरता पायो,’ चुम्लुङ अध्यक्ष थाङदेन भन्छन्, ‘रातो विजयको प्रतीक हो । दसैंलाई जनजातिले विजयोत्सव मान्दैनन् ।’ किरातहरू सेतोलाई राष्ट्रिय रङ मान्छन् ।
पशु–पन्छी बलि चढाउन छाडेर फूल, नैवेद्यबाट पूजा गर्नेले पनि सेतो टीका चलाएको पाइन्छ । ‘हाम्रो समुदायमा परापूर्वकालदेखि नै सेतो अक्षता टीका चलेको हो, तर पछि रगत मुछेर अतिक्रमण गरियो,’ इलामका यामप्रसाद लिम्बू भन्छन् ।
कतिपयले भने युद्धमा आर्यले अनार्यमाथि विजय हासिल गरेपछि विजयोत्सवको रूपमा दसैं मनाइएको व्याख्या गर्छन् र दसैंमा रातो टीका लगाउँदा लघुताभास हुने तर्क राख्छन् ।
(नागरिक दैनिक २०७० असोज १९ मा प्रकाशित)

Saturday, February 15, 2014

किराती भाका

तेह्रथुममा जन्मिएर मोरङमा हुर्किएका भगत सुब्बा २०३४ सालमा स्वर परीक्षा पास गरेपछि लिम्बू भाषाको गीत रेकर्ड गर्न रेडियो नेपाल छिरे । तर गाउन पाएनन् । ‘त्यसअघि लिम्बू भाषामा गीत रेकर्ड भएकै थिएन । त्यसैले मलाई मातृभाषामा गीत गाउने जोस चल्यो,’ हाल हङकङ बस्दै आएका उनले संस्मरणमा लेखेका छन्, ‘तर मातृभाषामा गाउन मिल्दैन भनेर दिएनन् ।’
रेडियोकै कर्मचारीको परामर्शमा सुब्बाले त्यसपछि राजाकहाँ विन्तीपत्र चढाए । लिम्बू कलाकारले गाउन पाउने, तर लिम्बू भाषामा गाउन नपाउने ‘हुकुम’ राजाबाट आयो । उनले त्यसपछि रेडियोमा नेपाली भाषाको गीत कहिल्यै गाएनन् । त्यतिबेला स्वरपरीक्षा पास गर्नेले छ महिनामा तीनवटा गीत गाउन पाउँथ्यो ।
मातृभाषाको गीत धीत मर्नेगरी रेकर्ड गर्नलाई सुब्बाले प्रजातन्त्र पुनर्बहाली नै कुर्नुप¥यो । २०४८ सालमा उनले म्युजिक नेपालमार्फत लिम्बू भाषाको गीति एल्बम ‘याक्थुङ साम्लो’ निकाले । त्यसपछि लिम्बू भाषामा अन्यले पनि गीत गाउन थाले । किरात राई (बान्तवा, चाम्लिङ, खालिङ) भाषाका गीत पनि रेकर्ड भएर धमाधम आउन थाले ।
...
ढिलो लयका कम्पनयुक्त स्वर भएका र बाँसुरी, ढोल, टुंगुना, बिनायोजस्ता बाजा बजाइएका गीत पूर्वेली भनेर चिन्ने गरिन्छ । लोकगायक तुलसी पराजुली पूर्वेली लोकगीतलाई छुट्याउने स्पष्ट आधार नरहेको बताउँछन् । ‘ढिलो लयका, अलि भद्दा मादल बजाइएका गीत ठेट पूर्वेली हुन्,’ उनले भने ।
अर्का गायक एवं किरात राई सांस्कृतिक कलाकार संघका पूर्वअध्यक्ष जितेन राईका अनुसार पूर्वेली गीतमा लयात्मक पाराको कम्पनयुक्त स्वर हुन्छ, यस्तो कम्पन (थ्रिलिङ) अन्य गीतमा पाइँदैन । ‘पूर्वेली गीतमा मुरली, बाँसुरी, टुंगुना, ढोल, च्याब्रुङ, झ्याम्टा, बिनायोको प्रयोग हुन्छ । नरसिंगा र सहनाइको आवाजमा पनि फरक हुन्छ,’ उनले भने, ‘तर हिजोआजका पूर्वेली गीतमा मौलिकता हराउँदै गएको छ ।’
पूर्वेली लोकगीतमा पूर्वी नेपालमा बसोबास गर्ने विभिन्न जातजातिको लोकसंस्कृति झल्किन्छ । अधिकांश पूर्वेली गीत किराती लोकलयसँग मिल्दाजुल्दा छन् । त्यसैले किरात समुदायका अग्रज कलाकारहरू पूर्वेली लोकगीतको मूल स्रोत नै किराती लोकसंस्कृति भएको दाबी गर्छन् । नेपाल ‘विस्तार’अघि पूर्वी नेपालमा किरातको बसोबास रहेको र पछाडि अन्यत्रबाट बसाइँ सरेर आएका जातजाति पनि किरात संस्कृतिबाट प्रभावित भएको उनीहरूको तर्क छ ।
लोकगायक पराजुली पनि पूर्वेली लोकगीतमा किराती लोकलयको प्रभाव रहेको बताउँछन्  । ‘बसोबासका कारण नेपालीभाषीमा किराती लवजको प्रभाव छ,’ उनले भने, ‘त्यसले गीतमा पनि प्रभाव पारेको छ ।’
लोकगायक राई अहिले नेपालमा चलेका लोक तथा फिल्मी गीतमा पनि पालाम, हाक्पारे, ख्याली, साकेलालगायत किराती गीत–संगीतको प्रभाव देखिने दाबी गर्छन् । ‘नेपालमै चलेका फिल्मीलगायतका गीत–संगीत किराती लोकसंस्कृतिबाट सिर्जित र प्रभावित हुन्,’ राई भन्छन्, ‘तर यसो भन्दा हामीलाई संकीर्णताको आरोप लाग्छ ।’
...
प्रजातन्त्र पुनर्बहालीअघि रेडियो नेपालको फूलबारी कार्यक्रममा विभिन्न भाषाका गीत बज्थे । ‘सातामा एकचोटि फूलबारी प्रसारण हुन्थ्यो, रेकर्डिङ नै राम्रो हुँदैनथ्यो,’ रेडियो नेपालका पूर्वकर्मचारीसमेत रहेका गायक राईले सुनाए, ‘त्यसले मातृभाषाको गीतलाई प्रवद्र्धन गरेन ।’
२०३६ सालमा जनमत संग्रह घोषणा भएपछि तत्कालीन राजा वीरेन्द्रले सुझाव माग्दा भगत सुब्बालगायतका लिम्बू कलाकारले रेडियोमा लिम्बू भाषाको गीत गाउन पाउनुपर्ने माग गरेका थिए । त्यसपछि अनुवाद गरेर दरबारमा पठाउने सर्तमा गीत गाउने अनुमति मिल्यो । तर २०३७ सालमा भएको जनमत संग्रहमा पञ्चायतले जितेपछि गीत रेकर्ड गर्ने मौका गुमेको सुब्बाले जनाएका छन् ।
सीमापारि सिक्किममा भने लिम्बू भाषाका गीत सन् १९८२ (विसं २०३९) देखि रेकर्ड हुन थालेका हुन् । सिक्किमका वरिष्ठ गायक एवं संगीतकार बिबी मुरिङलाका अनुसार आकाशवाणी गान्तोकले लिम्बू भाषाको गीत १९८३ अप्रिल ३ देखि प्रसारण गर्ने अनुमति पाएपछि गाउँ–गाउँबाट लोकगीत संकलन गरिएको थियो । ‘रेडियोमा बजाउन लोकआधुनिक र आधुनिक गीत पनि चाहिएकाले मेरै शव्द, संगीत र स्वरमा रेकर्ड गराएँ,’ मुरिङलाले नागरिकलाई सुनाए । उनले आफ्नै शव्द–संगीतका ६० गीत रेकर्ड गराएका छन् ।
नेपालमा लिम्बू गीत गाउने र सुन्ने लहर सुब्बाले नै ल्याएका हुन् । उनले लगातार सातवटा एल्बम बजारमा ल्याए । पचासको दशक सुरुआततिर राई भाषामा पनि गीति एल्बम आउन थाल्यो । पूर्वेली लोकगीत गाइरहेका जितेन राईले मातृभाषाको ‘स्यामुना’ एल्बम २०५० सालमा ल्याए ।
...
आधिकारिक तथ्यांक त छैन, तर लिम्बू कलाकारहरू दाबी गर्छन्– आदिवासी  जनजातिमा सबभन्दा बढी गीत लिम्बू भाषाकै छ । गायक एवं फक्ताङलुङ सयङका पूर्वअध्यक्ष धनवीर साँवा बर्सेनि चार÷पाँचवटा लिम्बू गीति एल्बम बजारमा आइरहेको बताउँछन् । ‘नेपालीबाहेक अन्य भाषामा यतिधेरै गीत तयार हुँदैनन्,’ उनले भने, ‘कतिपय जातजाति त आफ्नो संस्कृतिसँग सम्बन्धित धुन र बाजा प्रयोग गरेर नेपाली भाषामै गीत तयार गर्छन् ।’
लिम्बूभन्दा राईको जनसंख्या बढी छ । नाम चलेका गायक–गायिका पनि राई जातिका धेरै छन् । मातृभाषाका गीत भने उतिधेरै तयार भएका छैनन् । भाषिक समस्याका कारण गीत–संगीत अपेक्षित प्रवद्र्धन हुन नसकेको राई समुदायका कलाकार बताउँछन् । राई जातिमा थर (पाछा)पिच्छे  भाषा फरक हुन्छ, एकले अर्को बुझ्दैनन् ।
प्रजातन्त्र पुनर्बहालीपछि आएको जातीय सांस्कृतिक जागरण र पहिचानको आन्दोलनले मातृभाषाका गीत–संगीतलाई टेवा पु¥याएको कलाकारहरू बताउँछन् । एफएम रेडियोले पनि प्रचारप्रसारमा साथ दिए । पछिल्लो समय खुलेका इना, युमालगायतका क्यासेट सेन्टरले किरात लोकसंस्कृतिमा आधारित गीत रेकर्ड गर्न सहज बनाए । लिम्बू भाषा र संस्कृतिका फिल्म पनि बन्ने क्रम बढ्यो ।
अहिले किरात संस्कृतिसँग सम्बन्धित लय र बाजा प्रयोग गरेर नेपाली भाषामा गीत बनाउने क्रम पनि बढेको छ । त्यस्तै, राई–लिम्बू भाषामै आधुनिक तथा पपगीत पनि गाइएका छन् । नेपाली भाषाका गीत गाएर स्थापित भइसकेका राजेशपायल राई, दीपक लिम्बू, खगेन्द्र यक्सोलगायतका कलाकारले मातृभाषामा पनि गीत गाउन थालेका छन् ।  
लिम्बू भाषाको गीत गाउनेमध्ये अग्रपंक्तिमा मनु नेम्वाङ छिन् भने गीत लेख्नेमा यासेली योङहाङ आउँछन् । मातृभाषामै गाउन थालेकी नेम्वाङका करिब साढे ३ सय गीत रेकर्ड भएका छन् । उनले २०५४ सालमा आनी साक्थिम नामक लिम्बू फिल्मका लागि पहिलो गीत गाएकी थिइन् । लिम्बू लोकलयका नेपाली गीत पनि गाएकी नेम्वाङले भनिन्, ‘पालाम र हाक्पारे बढी चलेका छन् ।’
योङहाङले मातृभाषामा लेखेका १ सय ९२ वटा गीत रेकर्ड भएका छन् । पहिले जागरणका गीत लेख्ने उनी अचेल दर्शनका गीत लेख्छन् । उनले हाक्पारे र पालाम पनि गाएका छन् ।
लिम्बू भाषामा गीत गाउने क्रम बढे पनि बजार भने सानो छ । मातृभाषा नबुझ्ने पुस्ता हुर्कंदैछ । कमाउनभन्दा पनि भाषा–संस्कृति जोगाउन भनेर यसमा लागेको पुराना पुस्ताका कलाकार बताउँछन् । ‘२०५० सालमै मेरो गीत रेकर्ड हुन थालेको हो, तर पारिश्रमिक लिन थालेको चार÷पाँच वर्ष मात्र हुँदैछ,’ गीतकार योङहाङ भन्छन्, ‘पारिश्रमिक पनि म तोक्दिनँ । स्वेच्छाले दिन्छन्, थाप्छु ।’
अहिलेसम्म तीनवटा एल्बम बजारमा ल्याएका गायक साँवा कमाउन नसके पनि लगानी उठाउन खासै गाह्रो नहुने बताउँछन् । ‘पसलबाट एल्बम खासै बिक्री हुँदैन,’ उनी भन्छन्, ‘तर ‘पुस सेल’ गर्न गाह्रो छैन ।’
व्यावसायिक रूपमा सबल बन्ने अवस्था नभए पनि क्रेज बढ्दो छ । गायिका नेम्वाङ भन्छिन्, ‘पालाम–हाक्पारे गाउनु भनेको आफ्नै घरमा बस्नु जस्तै हो । यहाँ पाइने सहजता र आनन्द अरुतिर पाइँदैन ।’
(नागरिक दैनिक २०७० फागुन ३ गते प्रकाशित)